बाढीका कारण ग्यास आपूर्ति असहज, जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास दिन निर्देशन

काठमाडौँ । बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ । आपूर्ति समस्या तत्काल समाधान गर्दै उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।

मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएकी हुन्।

एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट (इन्टरचेञ्ज) गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उनको सचिवालयले बुधबार जनाएको छ ।

यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्रान्डको सिलिन्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिन्डरमार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने मन्त्रीको विश्वास छ ।

प्राकृतिक विपद् (बाढी) का कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *