काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषी कर्जा सुरक्षण योजना सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।
भदौ १८ गते बिहिबार निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालय टंगाल काठमाडौंमा आयोजित कार्यक्रम मार्फत सो समझदारी-पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी-पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिला राम गिरीले हस्ताक्षर गरेा हुन् ।
उक्त कार्यक्रममा कोषका प्रबन्धक विक्रान्त आचार्य, बैंकको कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख विश्व प्रकाश ज्ञवाली, उप-प्रबन्धक राजन घिमिरे लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
समझदारी-पत्रमा उल्लेख भए अनुसार कृषी कर्जा सुरक्षण योजना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका, बाजुराको बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका गरी ९ वटा स्थानीय तहमा सञ्चालन हुनेछ ।
साथै उल्लेखित स्थानीय तहहरुमा दुई वर्षसम्म प्रति स्थानीय तह रु. ८ करोडका दरले १६ करोड सम्म लगानी गरिनेछ । उक्त योजनामा कर्जाको सिमा प्रति ग्राहक २ लाख ५० हजार देखि ३ करोड रुपैयाँ सम्म र कर्जाको अवधि ७ वर्षको हुने व्यवस्था रहेको छ ।
समझदारी-पत्र बमोजिम कर्जाको सुरक्षणार्थ रहने सुरक्षण कोष स्थापनाका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषको १० करोड ५० लाख, योजना सञ्चालन हुने स्थानीय तहको प्रति स्थानीय तह ५० लाखका दरले ९ वटा स्थानीय तहको ४ करोड ५० लाख र संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष मार्फत प्राप्त हुने संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष सम्बन्धी संयुक्त कोष (युनाइटेड नेसन्स जोइन्ट एसडीजी फण्ड) को १५ करोड योगदान रहने गरी कुल ३० करोड रुपैयाँको सुरक्षण कोष रहने व्यवस्था गरिएको छ ।
उक्त योजना कार्यान्वयन मार्फत उद्यमशीलताको विकास, उत्पादकत्व अभिवृद्धि, खाद्य सुरक्षा र रोजगारी सिर्जना मार्फत राष्ट्रिय अर्थतन्त्रको दीगो एवं उत्थानशील विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु तथा ३३५ एटिएम् टर्मिनल मार्फत ४८ लाख भन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।






