काठमाडौं । आकस्मिक बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा जनजीवन तहसनहस भएको छ । विपद्बाट प्रभावित स्थानीय अहिले घर, पूर्वाधार र आधारभूत सेवा पुनःस्थापना गर्दै जनजीवनलाई सामान्य अवस्थामा फर्काउने प्रयासमा छन् ।
चीनसँगको सीमावर्ती क्षेत्रमा हिमनदी खस्दा आएको बाढीले घर, पुल तथा सीमा आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको थियो । त्रिशूली क्षेत्रमा बाढीले पानी, ढुंगा र गेग्रानसहितको भीषण भेल ल्याउँदा मात्रै करिब तीन सय घर क्षतिग्रस्त भएका छन् ।
विपद्मा आफन्त गुमाएका परिवार शोकमा छन् भने कतिपय स्थानीय अझै बेपत्ता छन् । बाढीबाट बाँचेकाहरूले घरका सामान, नगद, लत्ताकपडा तथा व्यवसायका सामग्रीसमेत गुमाएका छन् । केही पसल सञ्चालकले केही मिनेटमै वर्षौंदेखि जम्मा गरेको सम्पत्ति बाढीले बगाएको दृश्य टुलुटुलु हेर्नुपरेको छ ।
बाढीपहिरोका कारण विद्यालय गएका कतिपय बालबालिका घर फर्कन सकेका छैनन् । प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि र इन्धनको आपूर्ति समेत प्रभावित भएको छ ।
त्रिशूली नदीमाथिका पुलहरू बाढीले बगाएपछि कतिपय बस्तीबीचको सम्पर्कसमेत विच्छेद भएको छ । छुट्टिएका गाउँलाई पुनः जोड्न अहिले जिपलाइन निर्माणको काम भइरहेको छ । यसबाट आवतजावत केही सहज बन्दै गएको स्थानीय बताउँछन् ।
स्थानीय मैसिङ तामाङले जिपलाइन सञ्चालनले प्रभावित क्षेत्रको अवस्था केही सहज हुने आशा व्यक्त गरे । सूर्यकुमारी तामाङले लामो समय पर्खनुपर्ने अवस्था भए पनि जिपलाइनले तत्कालका लागि ठूलो सहयोग पुगेको बताइन् । अर्का स्थानीय सुमन सिंहले पनि गाउँमा सवारीसाधनको आवतजावत सहज हुने अपेक्षा व्यक्त गरे ।
यता, उपत्यकाको माथिल्लो क्षेत्रमा नेपाली सेनाले अस्थायी पुल निर्माण गरी अवरुद्ध आवतजावत सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिएको छ । प्राविधिक टोली विद्युत् र टेलिफोन सेवा पुनःस्थापित गर्न पनि खटिएको छ ।
तर बाढीपहिरोबाट ठूलो मात्रामा भौतिक संरचना र निजी सम्पत्ति नष्ट भएकाले तत्कालै पूर्ण पुनर्निर्माण सम्भव देखिँदैन । अहिले प्रभावित नागरिकको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउनु नै मुख्य चुनौती बनेको छ ।




