काठमाडौं। चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ।
आइतबार नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर २० लाख अमेरिकी डलर अर्थात् झन्डै ३० करोड ५० लाख रुपैयाँ बराबरको सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोगसमेत राजदूत माओमिङले अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे। दुवै सहयोग जोड्दा चीनले नेपाललाई २२ लाख अमेरिकी डलरभन्दा बढी नगद सहायता उपलब्ध गराएको छ।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताए। नेपालको विपत्तिमा चीन सधैं साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको उनले जानकारी दिए।
नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहयोगसमेत नेपाल भित्रिन सुरु भइसकेको उनले बताए। उनका अनुसार आइतबार मात्रै दुई चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत राहत सामग्री काठमाडौं ल्याएका छन्। थप सहयोगसमेत निरन्तर गरिने उनले बताए।
रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फर्काउन पहल भइरहेको जानकारीसमेत राजदूत माओमिङले अर्थमन्त्री वाग्लेलाई गराए।
यस्तै, जलविद्युत् कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको उनले बताए। थप उद्धार प्राविधिकहरू पनि नेपाल आइपुगेको जानकारी उनले दिए।
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा राहत तथा उद्धार सामग्री बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको पनि राजदूत माओमिङले जानकारी गराए।
चीनको सहयोग ग्रहण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले विपत्तिका कारण दुवै मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको भन्दै चीनमा भएको क्षतिप्रति नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गरे।
मन्त्री वाग्लेले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रका मुलुकले व्यहोर्नुपर्ने विनाशकारी क्षतिको यो सुरुवात भएको उल्लेख गर्दै उनले यस्ता विपत्तिको सामना गर्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताए।




