काठमाडौँ। जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले चीनतर्फ नदी थुनिएर बनेको ताल फुट्ने जोखिम भएकाले सुरक्षित रहन सूचना जारी गरेको छ।
महाशाखाका अनुसार ‘चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ।’
उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ।
अर्को सूचना जारी नहुँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्द्दाधार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।
नेपालको सीमाना नजिक रहेको चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको चिनियाँ जलस्रोत मन्त्रालयले जानकारी दिएको थियो।
चिनियाँ अनलाइन ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर ताल बनेको छ भने उक्त तालबाट पानी बाहिरिन थालेको छ।
यी नदीहरू मिसिएर नेपाल प्रवेश गरेपछि त्रिशूली नदीका मुख्य स्रोत/शाखा बन्छन्। तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशीमा मिसिन्छन्।
ग्लोबल टाइम्सले चिनियाँ जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै लेखेअनुसार आगामी तीन दिनमा उक्त तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान छ। यसले उक्त ताल फुट्ने जोखिम रहेको पनि चिनियाँ सञ्चारमाध्यमले लेखेका छन्।
ताल फुट्ने सम्भावनालाई ध्यानमा राखेर चिनियाँ सरकारले तयारी गरिरहेको बताइएको छ। नेपाल सरकारले पनि सम्भावित बाढीबाट बच्च सूचना जारी गरेको हो।




