काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बुधबार अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
बैंकको वित्तीय अवस्था दिनप्रतिदिन खस्किँदै गएको र व्यवस्थापन र सञ्चालकबीचको विवाद चुलिँदै गएपछि देखिएको असहजताका बीच श्रेष्ठले बैंक छोडेका हुन्।
श्रेष्ठ लामो समयदेखि नै हिमालयन बैंकमा रहँदै आएक थिए।
बैंक स्थापना हुँदा तत्कालीन प्रवर्तक पृथ्वीबहादुर पाँडेले उनलाई साझेदारका रूपमा भित्र्याएका थिए। पछिल्लो समय श्रेष्ठलगायत परिवारको नाममा बैंकमा करिब २१.७१ प्रतिशत स्वामित्व छ।
श्रेष्ठ करिब २०७८ सालको अन्त्यतिर वा २०७८/७९ को सुरुवाततिर बैंकको अध्यक्ष बनेका थिए। अध्यक्ष बनेदेखि नै उनी र प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शमशेर राणाबीचको सम्बन्ध सहज हुन सकेको थिएन। यसको प्रत्यक्ष असर बैंकको कार्यसम्पादनम देखिएको छ।बैंकको सञ्चालक समितिमा राणा–श्रेष्ठ समूह र खेतान समूहबीचको विवादले समेत बैंकको व्यवस्थापन प्रभावित हुँदै आएको बताइन्छ ।
विशेषगरी नेपाल इन्भेष्टमेन्ट बैंकसँगको प्रस्तावित मर्जर असफल भएपछि अध्यक्ष श्रेष्ठ र सीईओ राणाबीचको सम्बन्ध थप बिग्रिएको थियो।
बैंकको वित्तीय अवस्था कमजोर बन्दै गएपछि अध्यक्षमाथिको दबाब पनि बढ्दै गएको थियो। आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १२ करोड ९७ लाख रुपैयाँमा सीमित भएको थियो। अघिल्लो समयको तुलनामा नाफामा आएको ठूलो गिरावटले बैंकको कार्यसम्पादनमाथि प्रश्न उठाएको थियो।
त्यसपछि आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणले बैंकको अवस्था थप कमजोर देखाएको छ। उक्त आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब रुपैयाँभन्दा बढी ऋणात्मक देखिएपछि बैंकको वित्तीय स्वास्थ्यलाई लिएर थप चिन्ता र आलोचना बढेको थियो।
बैंकभित्रको विवाद र कमजोर वित्तीय सूचकका कारण श्रेष्ठमाथि अध्यक्षबाट हट्न दबाब बढिरहेको थियो। यहीबीच उनले बुधबार सञ्चालक समितिमा औपचारिक राजीनामा बुझाएका हुन्।
अध्यक्ष र लामो समयदेखि बाफियाको प्रावधानविपरीत पदमा रहँदै आएका सिईओ अशोक राणाबीचको बेमेलले बैंकको कार्यसम्पादन प्रभावित हुँदै आएका छन्।
वित्तीय प्रदर्शन खराब देखिएपछि अध्यक्षसँगै सिईओमाथिसमेत बैंकबाट बाहिरिएर मार्ग प्रसस्त गर्न दवाव रहँदै आएको बैंक स्रोतले जानकारी दियो। स्रोतका अनुसार सिईओ राणापनि केही दिनमै राजिनाम दिने तयारीमा छन्।




