दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल फेला

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।

भागर निवासी हेमकुमारी आले भदौ २ गते बिहान करिब ७ बजे घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। घर फर्किएपछि उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको थाहा भएको थियो।

स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजी गरे पनि बालक फेला नपरेपछि प्रहरीमा खबर गरिएको थियो।

बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो। स्थानीय बासिन्दासमेतको सहभागितामा प्रहरीले वन क्षेत्रमा खोजतलास तीव्र पारेको थियो।

खोजीका क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको हो।

बालकलाई सकुशल उद्धार गरी आवश्यक प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *