काठमाडौँ । नेपाली कांग्रेसका सांसद ललितजंग शाहीले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले राज्यबाट लिएको सम्पूर्ण भत्ता तथा सेवा सुविधा फिर्ता गराउन सरकारसँग माग गरेका छन्।
राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै शाहीले आयोगले आफ्नो जिम्मेवारी इमानदारितापूर्वक पूरा नगरेको आरोप लगाए।
उनले भदौ २३ गतेको घटनालाई समेटेर आंशिक प्रतिवेदन बुझाए पनि भदौ २४ गतेको घटनाको सत्यतथ्य बाहिर ल्याउन आयोग असफल भएको दाबी गरे।
सांसद शाहीले २४ गतेको बीभत्स घटनाको छानबिन गर्न भनिएकोमा उक्त घटनाको सत्य तथ्य बाहिर नल्याई मौन बस्नु खेदजनक भएको उल्लेख गरे।
छानबिनमा इमानदारिता नदेखाएको र आंशिक प्रतिवेदन मात्र बुझाएर जिम्मेवारीबाट पन्छिएको भन्दै उनले आयोगका अध्यक्ष कार्कीले बुझेको सम्पूर्ण भत्ता र सेवा सुविधा राज्यलाई नै फिर्ता गराउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘२४ गतेको बीभत्स घटनाको खोजतलास नगरेर र प्रतिवेदन पेश नगरेर मौन बस्ने आयोगका अध्यक्षले पाएको सुविधा फिर्ता गरियोस् ।
यसैगरी, सांसद शाहीले विभिन्न घटनाको छानबिनका लागि आयोग गठन गर्ने तर त्यसका प्रतिवेदनहरू सार्वजनिक नगर्ने र कार्यान्वयन पनि नगर्ने सरकारी प्रवृत्तिको कडा आलोचना गरे।
यस्ता आयोगहरूले राज्यको ठुलो रकम खर्च गर्ने तर ठोस नतिजा नदिने भएकाले आयोगहरूको औचित्यमाथि नै गम्भीर प्रश्न उठेको उनले बताए।
सरकारले राज्यकोषको दोहन रोक्न र छानबिन प्रक्रियालाई पारदर्शी बनाउन ध्यान दिनुपर्ने उनले बताए।





