प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट ५० लाखसम्म कर्जा पाउने

काठमाडौँ। नेपाल प्रहरीका सकलदर्जाले राष्ट्रिय वाणिज्य बैंकबाट ५० लाखसम्म कर्जा पाउने भएका छन् । प्रहरी र राष्ट्रिय वाणिज्य बैंकको बिचमा मंगलबार प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

वाणिज्य बैंकमा १० वर्षदेखि नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गरिँदै आएको थियो । सो सम्झौताको अवधि समाप्त भएकोले नवीकरण गरिएको र कर्जाको सीमा बढाउनेबारेको सम्झौतामा हस्ताक्षर भएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी दान बहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। प्रहरीले वाणिज्य बैंकमा नै सबै प्रहरीको तलबी खाता सञ्चालन गर्ने भएको छ ।

बिना धितो पेसाकर्मी सरल कर्जा लगानी र अवकाश प्राप्त कर्मचारीहरूको आश्रित परिवार समेतका लागि आवश्यक पेन्सन वितरण र कर्जा लगानी सम्बन्धी ५ वर्षको लागि थप सेवा सहित नवीकरण गरिएको छ । पेसाकर्मी सरल कर्जा १५ लाख र पेन्सन कर्जा ५ लाख प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको उपभोक्ता कर्जा निर्देशिकाको अधिनमा रहेर २० वर्षसम्मको ५० लाख घर कर्जा प्रहरी कर्मचारीलाई उपलब्ध गराउने भएको छ । सवारी साधन खरिद गर्न ७ देखि १० वर्षको लागि गाडी कर्जा उपलब्ध गराउने समझदारी भएको डीआईजी काफ्लेले बताए । घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुने सम्झौतामा उल्लेख छ ।

प्रहरी कर्मचारीहरूको दुर्घटनामा परि मृत्यु वा पूर्ण अपाङ्ग भएमा ५ लाखको बिमा सुविधा उपलब्ध हुनेछ । समझदारी पत्रमा हस्ताक्षर गर्दै आईजीपी दान बहादुर कार्कीले सम्झौताले अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्ने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *