काठमाडौं । नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल ग्राहकले अब सिम नामसारीका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन्।
कम्पनीका अनुसार एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्न आवश्यक सम्पूर्ण विवरण ग्राहकले अनलाइनमार्फत भर्न सक्नेछन्। अनलाइन विवरण भरेपछि नामसारी दस्तुर बुझाउन तथा आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा उपस्थित हुनुपर्नेछ।
यसका लागि ग्राहकले कस्टमर लगइन पोर्टलमा गई आफ्नो मोबाइल नम्बर राख्नुपर्नेछ। त्यसपछि मोबाइलमा प्राप्त हुने ओटीपीमार्फत लगइन गरी हालका ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरण भर्नुपर्नेछ।
त्यसैगरी, पछिल्लो एक महिनाको अवधिमा कल गरिएका पाँच वटा मोबाइल नम्बरसमेत विवरणमा उल्लेख गर्नुपर्नेछ।
सबै विवरण अनलाइनबाट भरेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। नामसारीका लागि लाग्ने दस्तुर बुझाई सक्कल नागरिकतासहित आफैं वा प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिने कम्पनीले जनाएको छ।
यस व्यवस्थाले कार्यालयमा पुग्नुअघि नै आवश्यक विवरण अनलाइनबाट भर्न सकिने भएकाले पोस्टपेड सिम नामसारी प्रक्रिया थप सहज हुने टेलिकमको अपेक्षा छ। कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने ग्राहकले प्रतिनिधिमार्फत समेत अन्तिम प्रमाणीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।




