आईजीआई प्रुडेन्सियलको बीमाशुल्क आर्जन ४ अर्ब ३८ करोड रुपैयाँ नाघ्यो

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको अधिकांश प्रमुख सूचकमा वृद्धि भए पनि खुद नाफामा भने करिब ९९ प्रतिशतको भारी गिरावट आएको छ।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन ११.२२ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६.६७ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले समीक्षा अवधिमा पुनर्बीमा शुल्कबापत २ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च २ अर्ब ५८ करोड २४ लाख रुपैयाँ रहेको थियो।

तर, बीमाशुल्क आर्जनमा वृद्धि भए पनि कम्पनीको खुद नाफा भने उल्लेख्य रूपमा घटेको छ। समीक्षा अवधिमा कम्पनीले ४० लाख ३८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ४९ लाख ७४ हजार रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको नाफा ९८.८९ प्रतिशतले घटेको देखिन्छ।

३ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ८४ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ४२ करोड ४८ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यमा विशेष जगेडा कोषमा १ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ४४ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ५७ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ०.१३ रुपैयाँमा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५३ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *