सानिमा रिलायन्स लाइफको बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा प्रगति

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो। अघिल्लो वर्ष कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफामा सामान्य सुधार भए पनि कम्पनीको व्यवसाय विस्तार भने तुलनात्मक रूपमा बलियो देखिएको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतभन्दा बढीले बढेर ७ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो बीमाशुल्क आर्जन ६ अर्ब ७६ करोड ६ लाख रुपैयाँ थियो।

नाफामा भएको सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ७ रुपैयाँ ५३ पैसा रहेको ईपीएस बढेर ७ रुपैयाँ ६५ पैसा पुगेको छ।

समिक्षा अवधिमा लगानी, कर्जा तथा अन्य स्रोतबाट हुने आय भने घटेको छ। यस्तो आय ४.४६ प्रतिशतले घटेर १ अर्ब ५० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष कम्पनीले यी स्रोतबाट १ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीको कुल आम्दानी भने बढेको छ। गत आर्थिक वर्षमा कुल आम्दानी ९ अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ६९ करोड १६ लाख रुपैयाँको तुलनामा उल्लेख्य बढी हो।

त्यस्तै समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा पनि बलियो वृद्धि देखिएको छ। अघिल्लो वर्ष १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष बढेर २५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सम्पत्ति २६ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ३२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा र सोल्भेन्सी अनुपात १.५७ रहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ छ।

त्यस्तै कम्पनीको महाविपत्ति कोष पनि बढेको छ। अघिल्लो वर्ष १४ करोड ७८ लाख रुपैयाँ रहेको यस्तो कोष बढेर १८ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको जगेडा कोष भने सामान्य घटेको छ। अघिल्लो वर्ष ५३ करोड २७ लाख रुपैयाँ रहेको जगेडा कोष घटेर ३५ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *