काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)को वित्तीय अवस्था स्वथ रहेको बताएको छ।
बैंकका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बैंकले संस्थाको वित्तीय सूचकांक स्वस्थ एवम् ग्राहकको निक्षेप सुरक्षित रहेको बताएको हो।
केन्द्रीय बैंकले उक्त विषयमा बैंकको सञ्चालन तथा व्यवस्थापनबारे नजिकबाट अनुगमन गरिरहेको र विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिने काम भइरहेको जनाएको छ।
राष्ट्र बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा मुद्दा विचाराधीन रहेको विषयलाई लिएर बैंकको दैनिक कारोबारमा तत्काल कुनै जटिलता देखिएको अवस्था नरहेको स्पष्ट पारेको छ। बैंकको तरलता अवस्था तथा वित्तीय सबलताका परिसूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेको विज्ञप्तिमा उल्लेख छ।
यसले गर्दा मुद्दा दायर भएको विषयबाट बैंकको नियमित काम–कारबाही समेत प्रभावित हुने अवस्था नरहेको राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले बैंकको वित्तीय अवस्था र नियमित सञ्चालनलाई नियमनकारी दृष्टिले निरन्तर निगरानी गरिरहेकोले बैंकको वित्तीय अवस्थाप्रति चिन्ता नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
राष्ट्र बैंकका अनुसार एनआईएमबीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको जानकारी प्राप्त भएपछि बैंकको सञ्चालन तथा व्यवस्थापनका विषयमा आवश्यक अध्ययन र छलफल समेत अघि बढाइएको बताएको छ।
अदालतमा विचाराधीन मुद्दाको प्रकृति, त्यसको समयावधि र गाम्भीर्यका आधारमा थप छलफल तथा कानुनी रायसमेत लिइने राष्ट्र बैंकले जनाएको छ। त्यसपछि बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा समग्र बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने केन्द्रीय बैंकको भनाइ छ।
राष्ट्र बैंकले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाको सञ्चालनमा नियामकीय निगरानी र कानुनी प्रक्रियालाई प्राथमिकतामा राखिएको संकेत गरेको छ। एनआईएमबीको हकमा पनि मुद्दाको अन्तिम परिणाम आउनुअघि नै बैंकको नियमित वित्तीय कारोबारमा असर पर्ने अवस्था नरहेको भन्दै निक्षेपकर्ता तथा ग्राहकलाई आश्वस्त पार्न खोजिएको देखिन्छ।
बैंकको तरलता र वित्तीय सबलताका सूचक तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेको राष्ट्र बैंकको निष्कर्षले मुद्दाका कारण बैंकको वित्तीय स्वास्थ्य तत्काल कमजोर भएको अवस्था नरहेको देखाएको छ।





