काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका बैंक खाताहरू सक्रिय गराउन तथा बाँकी नगद लाभांश भुक्तानी लिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ।
बैंकले सूचना जारी गर्दै साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड तथा तीसँग गाभिएका अन्य वित्तीय संस्थासमेतका १० वर्षदेखि कारोबार नभएका तथा निष्क्रिय अवस्थामा रहेका खाताहरूका खातावाल वा कानुनी हकवालालाई बैंकमा सम्पर्क गरी खाता सक्रिय गर्न आग्रह गरेको हो।
बैंकका अनुसार नेपाल राष्ट्र बैंकको इ.प्रा. निर्देशन नं. १६/०८२ को बुँदा नं. ३ को (४ र ५) सँग सम्बन्धित व्यवस्थाअनुसार निष्क्रिय खाताको अवस्थाबाट बाहिर ल्याउन आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
त्यसैगरी बैंक तथा बैंकसँग गाभिएका अन्य बैंक तथा वित्तीय संस्थाहरूको विभिन्न वार्षिक साधारणसभाबाट पारित नगद लाभांशमध्ये पाँच वर्षसम्म पनि भुक्तानी लिन नआएका शेयरधनीलाई लाभांश लिन बैंकले आग्रह गरेको छ।
बैंकले बाँकी नगद लाभांश लिन चाहने शेयरधनीले बैंकको शेयर रजिस्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा यथाशीघ्र सम्पर्क गरी भुक्तानी लिन सक्ने जनाएको छ।
विगत १० वर्षदेखि कुनै पनि कारोबार नभई निष्क्रिय अवस्थामा रहेका खाताहरू तथा वार्षिक साधारणसभाबाट पारित नगद लाभांश पाँच वर्षसम्म पनि भुक्तानी नलिएका शेयरधनीको विवरण बैंकको वेबसाइटमा समेत हेर्न सकिने बैंकले जनाएको छ।
एनआईएमबीले सम्बन्धित खातावाल, कानुनी हकवाला तथा शेयरधनीलाई आवश्यक कागजातसहित बैंक वा सम्बन्धित शेयर रजिस्ट्रारमा सम्पर्क गरी आफ्नो हकमा रहेको रकम तथा सुविधा लिन आग्रह गरेको छ।







