घरजग्गा कारोबारमा सरकारको कडाइ, ३ करोडमाथिको कारोबार गर्न अब लाइसेन्स अनिवार्य

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उप–महानगरपालिका क्षेत्रमा व्यावसायिक रूपमा घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाहरूका लागि इजाजत पत्र लिन सार्वजनिक सूचना जारी गरेको छ ।

मालपोत ऐन, २०३४ को दफा २६ (क) र २६ (ख) अनुसार घरजग्गा कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न विभागले सार्वजनिक सूचना जारी गरेको हो।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उप–महानगरपालिका क्षेत्रमा एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने फर्म वा कम्पनीले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्नेछ। विभागले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ।

विभागका अनुसार कारोबारको सीमाअनुसार इजाजतपत्रका लागि ५ करोड रुपैयाँसम्मको कारोबार गर्नेले ५ लाख रुपैयाँ र ५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।

इजाजतपत्रका लागि आवेदकले मालपोत नियमावली, २०३६ को अनुसूची–८ अनुसार आवश्यक कागजात स्क्यान गरी अनलाइनमा अपलोड गर्नुपर्नेछ। अनलाइन आवेदनपछि त्यसको प्रिन्ट प्रतिसमेत विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरूले आफू कुनै आपराधिक गतिविधिमा संलग्न नरहेको स्व–घोषणा पत्रसमेत पेश गर्नुपर्ने विभागले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *