काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार उनी आगामी अगस्ट १६ मा नेपाल आउने तयारीमा छन्।
जनरल सेठले सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए। नेपाल र भारतबीचको परम्पराअनुसार एकअर्का देशका प्रधानसेनापतिलाई मानार्थ प्रधानसेनापतिको दर्जा दिने चलन रहँदै आएको छ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने सम्भावना रहेको छ। भेटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि समय तय भइसकेको छैन।
नेपाल र भारतका सेनाबीच लामो समयदेखि ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। सन् १९५० देखि दुवै देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा दिने परम्परा सुरु भएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारत भ्रमणका क्रममा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। उनलाई २७ मंसिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले उक्त दर्जा प्रदान गरेकी थिइन्।




