काठमाडौँ । दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले सोमबार आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो ।
आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित भएकोमा अदालतले यस्तो आदेश गरेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाटै आइतबार राति पक्राउ परेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको थियो । परिस्थिति थप भड्काउने काम गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको थियो । प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक हुन् । उनी विभिन्न आरोपमा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।




