काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेका २४ वर्षीय सन्तोष प्रधानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–८ तीज विनायक बस्दै आएका प्रधानलाई काठमाडौं महानगरपालिका–१९, गोङ्गबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रधानविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतले २०८२ असोज १३ गते २ दिन कैद तथा १० लाख रुपैयाँ बिगोमा ५ प्रतिशतका दरले हुने ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। अदालतको आदेशपछि फरार रहेका उनलाई पक्राउ गरी २०८३ साउन १५ गते फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको हो।
प्रधानविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त नयाँ बानेश्वर, जिल्ला प्रहरी परिसर भक्तपुर तथा प्रहरी वृत्त जनसेवासहित विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुर तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरका ६ वटा मुद्दा दर्ता रहेका छन्।
ती मुद्दामा क्रमशः १० लाख, ८ लाख, ५ लाख, ९ लाख, १ करोड २५ लाख ५२ हजार ३३६ रुपैयाँ र २ करोड ९४ लाख ५२ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। यससँगै उनीविरुद्ध कुल बिगो रकम ४ करोड ५२ लाख ५८ हजार ३३६ रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।




