सुनसरी घटना: सामाजिक तथा धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न क्षेत्रमा सामाजिक तथा धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालीहरूबीचको एकता, मेलमिलाप र आपसी सद्भाव नै वर्तमान समयको प्रमुख आवश्यकता भएको बताएका छन् ।

बिहीबार निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी ‘सद्भाव सन्देश’मा उनले सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको असर कोशी प्रदेशका अन्य क्षेत्रमा समेत फैलिएकोप्रति दुःख व्यक्त गरेका छन् ।

नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ-आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै विश्वमा नेपालको सम्मान रहेको उनको भनाइ छ। यो विशिष्ट गौरव र गरिमालाई कसैबाट पनि खलल पुर्‍याउने काम हुन नहुनेमा उनले जोड दिएका छन् ।

समाजका सबै समुदायबीच सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस्ता अवाञ्छित घटना र दुर्घटना हुनु चिन्ताको विषय भएको पूर्वराजाले बताएका छन् । यस्ता गतिविधिहरू नेपालको मौलिक मूल्य र मान्यता विपरीत रहेको उल्लेख गर्दै उनले जुनसुकै भू-भागमा रहेका नेपालीहरूलाई पनि एकापसमा मिलेर बस्न विशेष आग्रह गरेका छन् । ‘हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो,’ सन्देशमा भनिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *