साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न

काठमाडौं । यातायात व्यवस्था विभागले २७ लाख ४७ हजार २५३ थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सम्पन्न गरेको जनाएको छ। विभागले बिहीबार विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स छापिसकिएको जानकारी दिएको हो।

विभागका अनुसार छापिएका सबै लाइसेन्स कार्ड हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयहरूमा वितरणका लागि पठाइसकिएको छ। १२ कात्तिक २०८२ मा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौतापछि लाइसेन्स छपाइ कार्यले तीव्रता पाएको विभागले जनाएको छ।

अहिले म्याद सकिन एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स भने छापिएको छैन । यस्ता लाइसेन्सको नवीकरणपछि १० वर्ष अवधिको लाइसेन्स प्राप्त हुने भन्दै विभागले एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स बाहकलाई पायक पर्ने यातायात कार्यालयमा नवीकरण गर्न समेत अनुरोध गरेको छ ।

विभागले नयाँ लाइसेन्स प्राप्ति र नवीकरणमा राष्ट्रिय परिचय पत्रमा भएको विवरण प्राप्त गर्न, राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको समेत जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *