काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न सहकारीका करिब ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ बचत फिर्ता तथा मिलान गरेको छ ।
समितिले आफ्नो पछिल्लो ९१ दिने कार्यकालको कार्यप्रगति र भावी कार्ययोजना सार्वजनिक गर्दै सहकारीको ऋण अपचलन गर्ने सञ्चालक तथा ऋणीहरूमाथि कडा कारबाही अघि बढाएको जनाएको छ ।
समितिका अनुसार २१ करोड रुपैयाँ नगद फिर्ता र ५० करोड रुपैयाँ बराबरको बचत मिलान गरी कुल ७१ करोड रुपैयाँ राफसाफ गरिएको छ । ५ लाख रुपैयाँभन्दा कम बचत भएका सदस्यलाई प्राथमिकतामा राखेर रकम फिर्ता भइरहेको समितिले जनाएको छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारीका १ हजार ५०० रुपैयाँसम्मका बचत र अन्य सहकारीका १० हजार रुपैयाँभन्दा कमका बचत अधिकांश फिर्ता गरिसकिएको समितिको भनाइ छ । यस्तै, ज्येष्ठ नागरिक, एकल महिला तथा प्राणघातक रोग लागेका बचतकर्तालाई प्राथमिकता दिँदै पहिलो चरणमा ४८ जनालाई १२ लाख रुपैयाँ फिर्ता गरिएको छ ।
समितिले सहकारीको ऋण नतिर्ने ऋणी र सञ्चालकलाई कडा चेतावनी दिँदै ऋण असुलीका लागि बैंक खाता रोक्का, राहदानी रोक्का, कालोसूचीमा राख्ने तथा धितो लिलाम गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । कर्जा चुक्ता नगरेसम्म सरकारी सेवा सुविधा रोक्नसमेत सम्बन्धित निकायलाई पत्राचार गरिएको छ ।
ऋण मिलान प्रक्रियाअन्तर्गत अनिवार्य १० प्रतिशत र २० प्रतिशत नगद दाखिला गर्ने व्यवस्थाबाट ऋणीहरूबाट २२ करोड ८३ लाख रुपैयाँ असुल भएको समितिले जानकारी दिएको छ । २३ वटा समस्याग्रस्त सहकारीमध्ये नेपाल सहकारी वित्तीय संस्था लगायतका सहकारीको सम्पत्ति व्यवस्थापनका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ ।
यसैबीच, कान्तिपुर सेभिङ एण्ड क्रेडिट र गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका बचतकर्तालाई साउनको तेस्रो सातादेखि रकम फिर्ता गरिने भएको छ । कान्तिपुरका बचतकर्ताले जनही १७ हजार ९४५ रुपैयाँ र गोरखाका बचतकर्ताले २५ हजार २४२ रुपैयाँ पाउने समितिले जनाएको छ ।
समितिले चालु आर्थिक वर्षमा तनहुँ, पोखरा, बागलुङ, बुर्तिबाङ र गोलबजार क्षेत्रमा रहेका सहकारीका मार्ट व्यवस्थापन गर्ने तथा ५ लाख रुपैयाँसम्म र १ करोड रुपैयाँसम्मका बचत मिलान गर्ने योजना अघि सारेको छ । जनशक्ति अभाव भए पनि प्रविधिको प्रयोग बढाउँदै बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई तीव्रता दिइएको समितिले जनाएको छ ।



