काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ। बैंकले प्रमुख वित्तीय अधिकृत (सीएफओ), शाखा प्रबन्धक र रिलेसनसिप म्यानेजरसहित विभिन्न पदमा जागीर खुलाएको हो।
बैंकले केन्द्रीय कार्यालय तथा विभिन्न शाखाका लागि योग्य, दक्ष र अनुभवी उम्मेदवारबाट आवेदन आह्वान गरेको छ।
बैंकले सार्वजनिक गरेको विज्ञापनअनुसार प्रमुख वित्तीय अधिकृत (सीएफओ) पदमा एक जना कर्मचारी माग गरिएको छ। उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्ट (सीए) वा एसीसीए उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। उम्मेदवारसँग नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस), वित्तीय प्रतिवेदन, लेखा, कर तथा तथ्यांक विश्लेषणसम्बन्धी राम्रो ज्ञान हुनुपर्ने बैंकले जनाएको छ। यो पदका लागि वरिष्ठ व्यवस्थापक तहसम्म आवेदन दिन सकिनेछ र कार्यस्थल बैंकको केन्द्रीय कार्यालय रहनेछ।
त्यस्तै, झापा जिल्लाभित्रका शाखाका लागि शाखा प्रबन्धक पदमा जुनियर अधिकृत/अधिकृत तहमा एक जना कर्मचारी माग गरिएको छ। यस पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव आवश्यक पर्नेछ। विकास बैंक वा वाणिज्य बैंकमा कम्तीमा दुई वर्ष शाखा प्रबन्धकका रूपमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ।
त्यस्तै कर्णाली प्रदेशअन्तर्गतका शाखाका लागि पनि शाखा प्रबन्धक पदमा केही कर्मचारी माग गरिएको छ। उक्त पदका लागि सुपरभाइजर तहमा आवेदन दिन सकिनेछ। उम्मेदवारले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
यसैगरी, रुपन्देहीको भैरहवाका लागि रिलेसनसिप म्यानेजर पदमा एक जना कर्मचारी माग गरिएको छ। सहायक/वरिष्ठ सहायक तहका लागि खुलाइएको उक्त पदमा आवेदन दिन कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र विकास बैंक वा वाणिज्य बैंकमा सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ।
बैंकले व्यवस्थापक तहका लागि ४५ वर्षभन्दा कम, अधिकृत तहका लागि ४० वर्षभन्दा कम र सुपरभाइजर तहका लागि ३५ वर्षभन्दा कम उमेर हुनुपर्ने व्यवस्था गरेको छ। अधिकृत तहका पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ।
जागीर खान इच्छुक तथा योग्य उम्मेदवारले बैंकको आधिकारिक वेबसाइटको ‘करियर’ सेक्सनमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ साल साउन २३ गते साँझ ५ बजेसम्म तोकिएको छ।
बैंकले प्राप्त आवेदनमध्ये कुनै पनि आवेदन कारण नखुलाई अस्वीकृत गर्न सक्ने अधिकार सुरक्षित राखेको जनाएको छ।




