काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नयाँ नेतृत्वलाई सरकारले निर्धारण गरेको राजस्व संकलन लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित भेटघाटमा उनले भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आग्रह गरेका हुन्।
अर्थमन्त्री वाग्लेले व्यावसायिक वातावरणलाई असर नपर्ने गरी ‘मिसन १६ खर्ब’ सफल बनाउन राजस्व संकलनमा केन्द्रित हुन निर्देशन दिए। राजस्व चुहावट नियन्त्रण, स्वैच्छिक कर दाखिला वृद्धि र कर तिर्ने वातावरण निर्माणमा मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए।
उनले भन्सार तथा राजस्व प्रशासनलाई सूचना प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउन जोड दिँदै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह सुधार र चुहावट नियन्त्रण गर्नुपर्ने बताए।
आन्तरिक राजस्व र भन्सारबाट हुने आम्दानी वृद्धि गर्न सके मुलुकको आन्तरिक स्रोत बलियो हुने, बाह्य ऋणमाथिको निर्भरता घट्ने र विकास निर्माणमा आफ्नै स्रोत परिचालन गर्न सहज हुने अर्थमन्त्री वाग्लेको भनाइ थियो।
उनले सक्षम र अनुभवी अधिकारीहरूलाई राजस्व प्रशासनको नेतृत्वमा ल्याइएको उल्लेख गर्दै आगामी ६ देखि ८ महिनाभित्र सकारात्मक नतिजा देखिने विश्वास व्यक्त गरे।
मन्त्रिपरिषद्को असार १८ गतेको निर्णयअनुसार तीनै सहसचिव अर्थ मन्त्रालयमा सरुवा भएका थिए। असार २२ गते मन्त्रालयमा हाजिर भएपछि यमलाल भुसाललाई भन्सार विभागको महानिर्देशक, डा. भीष्मकुमार भुसाललाई आन्तरिक राजस्व विभागको महानिर्देशक तथा प्रेमप्रसाद आचार्यलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको हो।
नयाँ जिम्मेवारी सम्हालेका तीनै अधिकारीले राजस्व संकलन सुधार, चुहावट नियन्त्रण र राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




