कोलम्बो । श्रीलंकाको राजधानी कोलम्बो नजिक रहेको नेगोम्बो कारागारमा भएको भीषण झडपमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो कारागारमा आइतबार सुरु भएको झडप सोमबारसम्म पनि जारी रहेको थियो।
नेगोम्बो अस्पतालकी निर्देशक पुष्पा गमलाथले एएफपीसँग कुरा गर्दै चार जना सुरक्षाकर्मी र १५ जना कैदीसहित १९ जनाको शव अस्पतालमा ल्याइएको जानकारी दिइन्। उनका अनुसार १०० भन्दा बढी घाइते कैदी उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।
प्रहरी प्रवक्ता चन्दना हेराथले कारागारभित्र झडप भएको र त्यसक्रममा मानवीय क्षति भएको पुष्टि गरेका छन्। तर, घटनाको कारण र झडप कसरी सुरु भयो भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन।
कडा सुरक्षा व्यवस्थाबीच रहेको नेगोम्बो कारागारमा भएको यस घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ। एजेन्सी




