प्राइम कमर्सियल बैंकको ऋणपत्र आवेदन अवधि लम्बियो

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जारी गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा आवेदन दिने अवधि असार ३० गतेसम्म लम्ब्याएको छ।

बैंकले असार १६ देखि निष्कासन तथा बिक्री खुला गरेको १० वर्षे अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको ऋणपत्रमा अब असार ३० सम्म आवेदन दिन सकिने जनाएको हो।

यद्यपि, तोकिएको अवधिअघि नै मागभन्दा बढी आवेदन परे सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने बैंकले जनाएको छ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका तीन अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ।

तीमध्ये १८ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणतर्फ छुट्याइएको ऋणपत्रमध्ये ६० हजार कित्ता अर्थात् पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण निष्कासित कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *