काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रति राजसंस्था समर्थक नागरिकको आशा रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङदेनले राजसंस्थाको पक्षमा रहेका कतिपय मतदाताले समेत बालेन र रास्वपालाई समर्थन गरेको दाबी गरे। उनले ती मतदाताको अपेक्षा र भावनालाई सम्बोधन गर्न रास्वपाको विशेष जिम्मेवारी रहेको बताए।
‘राजा चाहिन्छ भन्नेहरूको भोट पनि तपाईंहरूलाई छ। राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै पनि बालेनले राजा ल्याउँछ भन्ने विश्वासमा धेरैले तपाईंहरूलाई मत दिएका छन्,’ उनले भने, ‘त्यसैले जनताको त्यो विशिष्ट चाहनालाई सम्बोधन गर्ने जिम्मेवारी तपाईंहरूमा छ।’
लिङदेनले मुलुकको राजनीतिक संकट केवल नेतृत्वको कमजोरीका कारण मात्र नभई वर्तमान संवैधानिक व्यवस्थासँग पनि जोडिएको जिकिर गरे। उनका अनुसार संविधानमा आवश्यक सुधार नगरी देशलाई सही दिशामा अघि बढाउन कठिन हुनेछ।
‘समस्या नेतामा मात्र छैन, संविधान र संवैधानिक व्यवस्थामा पनि छ,’ उनले भने, ‘यो संविधानमा सुधार नगरी देश अगाडि बढ्न सक्दैन। तपाईंहरूसँग ऐतिहासिक अवसर छ, त्यसलाई सदुपयोग गर्नुपर्छ।’






