काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुर्याएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नेपालको इतिहास, राष्ट्रियता र पुर्खाहरूको योगदान स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति संवेदनशील हुनुपर्ने धारणा राखे ।
उनले नेपाली वीर पुर्खाहरू अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवरलगायतले देशको रक्षाका लागि गरेको योगदान स्मरण गर्दै नेपालको भूमि उनीहरूको बलिदानबाट प्राप्त भएको बताए ।
उनले भने, ‘मलाई आज इतिहासको सम्झना आइरहेको छ । म बाघको डोमरु हँु सिनो खाने कुकुर होइन यो अभिव्यक्ति हाम्रा विरपुर्खा अमरसिंह थापाको हो । म स्मरण गर्न चाँहे विरभक्ति थापा जो ७० वर्षको वृद्ध उमेरमा यो देशको रक्षार्थ उभिएका थिए र ज्यानको आहुती दिएका थिए । नालापानी युद्धमा नायक विर बलभद्र कुवंर लडेका थिए । त्यस्तै बहादुर साह यो ग्रेटर नेपालका निर्माता हुन् । मैले स्मरण गर्न चाहे यो भूमी नेपाली पूर्खाहरुले आर्जन गरेको भूमी हो । यसलाई सानोतिनो हिसावले नसम्झियोस् ।’
रानाले राष्ट्रियताप्रति नेपाली जनताको प्रेम, निष्ठा र समर्पण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । प्रधानमन्त्रीले ‘नेपालले भारतको जग्गा मिचेको छ’ भन्ने टिप्पणी गरेको उल्लेख गर्दै उनले उक्त अभिव्यक्ति राष्ट्रिय भावनाविपरीत रहेको दाबी गरे ।
उनले भने, ‘यो मातृत्व भूमी हो । राष्ट्रियताप्रतिको हामी सबैको प्रेम छ, निष्ठा छ, समर्पण छ । यो भावना नै राष्ट्रिय भावना हो । आज यो भावनाको खिलापमा सम्मानिय प्रधानमन्त्री यही सम्मानित सदनमा मजाकिलो हिसावले भद्दा मजाकको हिसावले सामान्य अर्थमा चाँही नेपालले भारतको जग्गा मिचेको छ भनेर अभिव्यक्ति दिनुहुन्छ । लाज लागिरहेको छ ।’
उनले भारतसँगको सीमा विवाद अझै समाधान हुन बाँकी रहेको उल्लेख गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको बताए । ती क्षेत्रहरू नेपालको भूभाग भए पनि अझै प्राप्त गर्न बाँकी रहेको उनको भनाइ थियो ।
उनले भने, ‘म आग्रह गर्न चाहे एकातिर भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी जो नेपालको अखण्ड भूमी हो, जो ३३५वर्ग किलोमिटर रहेको छ यसलाई हामीले प्राप्त गर्न बाँकी छ ।’
सांसद रानाले राष्ट्रियताको विषयलाई सामान्य रूपमा नलिन आग्रह गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति सबै राजनीतिक दल र नेतृत्व गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।






