काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल ले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली समृद्धि’को नयाँ अध्याय संयुक्त रूपमा निर्माण गर्न आग्रह गरेका छन्।
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले बुधबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक सम्भावना, रणनीतिक भौगोलिक अवस्थिति र युवा जनशक्तिलाई लगानीका लागि आकर्षक आधारका रूपमा प्रस्तुत गरेका हुन्।
उनले नेपाल सरकार थप सक्षम, पारदर्शी र व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै चिनियाँ लगानीकर्ताहरूलाई ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे।
नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनका क्रममा मन्त्री खनालले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग प्रत्यक्ष संवादसमेत गरेका थिए। कार्यक्रममा नेपाल लगानी बोर्डका प्रतिनिधिहरूले नेपालमा उपलब्ध लगानीका अवसर, नीतिगत सुधार तथा सम्भावित परियोजनाबारे प्रस्तुतीकरण गरेका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ सँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने तथा आपसी हितका विविध क्षेत्रमा साझेदारी बढाउने विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।
त्यसैगरी, उनले बेइजिङस्थित श्वेत स्तूप को अवलोकन गरेका थिए। नेपालको राष्ट्रिय विभूति अरनिको द्वारा डिजाइन गरिएको उक्त सम्पदालाई नेपाल–चीन मित्रताको ऐतिहासिक प्रतीकका रूपमा लिइन्छ। यसले नेपाली कला, वास्तुकला र सांस्कृतिक प्रभावको अन्तर्राष्ट्रिय पहिचानलाई समेत उजागर गरेको छ।
मन्त्री खनालले चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सहभागिताबारे धारणा राखेका थिए।
परराष्ट्रमन्त्री खनाल चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यी को निमन्त्रणामा आइतबार बेइजिङ पुगेका हुन्। उनी भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।






