कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाखको बजेट, पुँजीगत खर्च प्राथमिकतामा (पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विकास निर्माण, पूर्वाधार विस्तार, कृषि, उद्योग तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताए ।

कुल बजेटमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ तथा वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको यो बजेट चालु आर्थिक वर्षको बजेटभन्दा १२.७४ प्रतिशतले बढी हो । बजेटको ठूलो हिस्सा विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा केन्द्रित गरिएको सरकारले जनाएको छ ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनबारे जानकारी दिँदै मन्त्री लिङ्थेपले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताए । यस्तै राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब १२ करोड रुपैयाँ, सशर्त अनुदान ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदान ६४ करोड रुपैयाँ तथा विशेष अनुदान ५५ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्राकृतिक स्रोतको रोयल्टीबाट ४१ करोड रुपैयाँ, सोझै भुक्तानी प्रणालीमार्फत २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बाँकी अपुग हुने करिब ५ अर्ब रुपैयाँ प्रदेशको नगद मौज्दातबाट व्यवस्थापन गरिने सरकारको योजना छ ।

प्रदेश सरकारले आगामी वर्ष आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि, रोजगार सिर्जना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *