शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउनु उपयुक्त छैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा ‘लग्जरी कर’ लगाउने नीति उपयुक्त नभएको बताएका छन्।

नेपाली कांग्रेसले आइतबार आयोजना गरेको सुवर्ण शमशेर इकोनोमिक शृङ्खला कार्यक्रममा बोल्दै थापाले आयकरको सीमा ५ लाखबाट १० लाख रुपैयाँ पुर्‍याएको देखिए पनि अन्य माध्यमबाट नागरिकमाथि थप करको भार थोपर्ने प्रयास गरिएको टिप्पणी गरे।

उनले शिक्षा र स्वास्थ्यमा निजी संस्थामा पुग्नु अहिलेको अवस्थामा लग्जरी नहुने बताए । ‘शिक्षामा निजी स्कुलमा बच्चाबच्ची पढाउने र उपचार गर्न निजी अस्पतालमा जानु अहिलेको अवस्थामा लग्जरी होइन,’ थापाले भने, ‘सरकारी विद्यालयमा पढाइ कस्तो छ ? र सरकारी अस्पतालमा बिरामी भएर जाँदा सबैलाई तत्काल सेवा उपलब्ध हुन्छ कि हुँदैन भन्ने बुझ्नुपर्छ । त्यो नबुझी निजी विद्यालयमा पढायो र निजी अस्पतालमा उपचार गर्छ भनेर शुल्क लिनु उपयुक्त हुँदैन ।’

सभापति थापाले पार्टीका सांसदहरूलाई बजेट छलफलका क्रममा संसद्‌मा क्रमिक सुधार हुन् या संरचनागत सुधार छुट्ट्याउन निर्देशन समेत दिए । सरकारले अगाडिबाट कमाएर गोजीमा हालेको हेरेर करमा सहुलियत दिएको जस्तो गरी पछाडिको गोजीबाट सुटुक्क कर लादेको बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *