काठमाडौं । रराष्ट्रमन्त्री शिशिर खनाल आइतबारदेखि चार दिने औपचारिक चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा हुने भ्रमण जेठ ३१ गतेदेखि असार ३ गतेसम्म रहनेछ।
भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ। उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनेछन् ।
सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन्।
त्यसैगरी, मन्त्री खनालको सम्मानमा नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुनेछन्। कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।






