काठमाडौं। सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानमा रहेका दिपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायतविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको छ।
जिल्ला अदालत काठमाडौंमा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिनाको आरोपमा गोल्छा, भट्ट, अग्रवालसहित ४२ जनाविरुद्ध तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत ८१ जनाविरुद्ध अभियोग दर्ता भएको हो।
भट्टविरुद्ध करिब २ अर्ब ८९ करोड रुपैयाँ, भृकुटी ब्रोकिङ समूहसँग सम्बन्धित प्रतिवादीविरुद्ध ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी तथा हिमालयन रिइन्स्योरेन्सका पदाधिकारीविरुद्ध २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ।
सम्पत्ति शुद्धीकरण विभागले भट्ट र सुलभ अग्रवालविरुद्ध विशेष अदालतमा पनि मुद्दा दायर गरेको छ भने उच्च अदालत पाटनमा भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता गर्दै ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी बिगो माग गरेको छ।














