एजेन्सी । क्यानडाको सबैभन्दा ठुलो हवाई सेवा प्रदायक कम्पनी एयर क्यानडाका एक पूर्व विमान चालकले आवश्यक माथिल्लो तहको अनुमति (लाइसेन्स) पत्र बिना नै १७ वर्षसम्म दशौँ हजार यात्रु बोकेर विमान उडाएको खुलासा भएको छ।
उनलाई क्यानेडियन प्रहरीले पक्राउ गरी विभिन्न आपराधिक मुद्दा चलाएको छ। अभियुक्तले सन् २००९ देखि २०२५ सम्म संसारकै ठुला र अत्याधुनिक व्यावसायिक विमानहरू उडाएका थिए। यस अवधिमा उनले नौ सयभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू भरेका थिए। यो १७ वर्षको अवधिमा उनले करिब ३० लाख क्यानेडियन डलर बराबरको ठुलो रकम तलब र भत्ताका रूपमा बुझेका थिए।
प्रहरीका अनुसार यो अनुसन्धान र यसका विवरणहरू कुनै फिल्मी कथा जस्तै लाग्छन्। अभियुक्तले आफ्नो रोजगारदाता कम्पनी र उड्डयन नियामक निकाय दुवैलाई झुक्काएर गलत योग्यता पेस गरेको अनुसन्धानबाट खुलेको छ। सीएनएनका अनुसार गत वर्ष क्यानडाको उड्डयन नियामक निकायले विमानस्थलमा नियमित जाँच गर्ने क्रममा उनको कागजपत्रमा शंकास्पद त्रुटिहरू फेला पारेको थियो। त्यसलगत्तै हवाई कम्पनीले उनलाई उडानबाट रोक्यो। तर यस विषयमा कडा कानुनी र आपराधिक अनुसन्धान सुरु हुनुभन्दा ठीक अगाडि नै उनले स्वैच्छिक अवकाश लिइसकेका थिए। लामो र जटिल अनुसन्धानपछि प्रहरीले उनलाई जुन महिनाको सुरुमा पक्राउ गरेको हो।
हवाई कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार यस घटनाले यात्रुहरूको सुरक्षामा भने कुनै प्रत्यक्ष खतरा पुगेको थिएन। ती चालकसँग जहाज उडाउने आधारभूत व्यावसायिक ज्ञान र सीप थियो। साथै कम्पनीका सबै चालकहरूले हरेक छ महिनामा अनिवार्य र कडा नवीकरण तालिम लिनुपर्छ। साथै, हरेक वर्ष सरकारी जाँचकीको निगरानीमा उडान परीक्षण पास गर्नुपर्छ, जसमा उनी सधैँ सफल भएका थिए। तर सुरक्षाका लागि कानुनी प्रक्रिया उत्तिकै महत्त्वपूर्ण हुने भएकाले कम्पनीले यसलाई गम्भीरताका साथ लिएको छ।
उनलाई जुन महिनाको अन्त्यतिर अदालतमा उपस्थित गराइनेछ। यति लामो समयसम्म उनले कसरी सरकारी प्रणाली र देशकै ठुलो हवाई कम्पनीको आँखामा छारो हाल्न सफल भए तथा उनले कसरी ती नक्कली कागजातहरू तयार पारे भन्नेबारे अहिले विस्तृत रूपमा अनुसन्धान भइरहेको छ।






