वर्तमान आर्थिक संकटको प्रमुख जिम्मेवार सरकार नै रहेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आरोप लगाएका छन् । राजधानीमा आयोजित नेपाली अर्थतन्त्रको वास्तविकता र बजेट विषयक अन्तरक्रियामा उनले सरकार व्यवहारिक वस्तुपरक हुनुभन्दा कर (राजश्वमुखी) हुनु गल्ती भएको बताए ।
‘कोभिडपछि आर्थिक गतिविधि बढ्नु, आयात बढ्नु स्वभाविक नै थियो । तर सरकारले यसले भोलि अर्थतन्त्रमा पार्न सक्ने संभावित संकटलाई हेर्दैहेरेन । सरकारले केबल राजश्वलाई मात्र हेर्यो’ पाण्डेले भने यसैको प्रभाव विदेशी मुद्रा सञ्चितिमा पर्यो र अहिले समग्र अर्थतन्त्रमा संकट आइरहेको छ ।’ उसो त तीब्र आयातले विदेशी मुद्रा सञ्चितिमा मात्र नभई यसले सोधनान्तर स्थिति, चालू खाता घाटा समेत इतिहासमै उच्च विन्दुमा पुगेको उनको भनाइ छ ।
साथै, सरकारी वित्त परिचालन पुँजीगत हुन नसक्नु र ट्रेजरी खर्च समेत बजारमा परिचालन नभएर राष्ट्र बैंकमा नै थुप्रिनु अर्को समस्याको विषय भएको उनको भनाइ छ । यसमा थप पछिल्लो समय बढेको रुस-युक्रेन युद्धको तनाव विश्व बजारमा नै परेको आर्थिक प्रभाव नेपालमा समेत पर्दा थप समस्या परेको उनको भनाइ छ । यसबाट बच्न सरकारले जतिसक्दो स्वदेशी उत्पादन र प्रयोगको नीति लिनुपर्ने उनले बताए ।






