काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मेयर सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित अख्तियारले सिंह सहितलाई मुद्दा चलाएको हो ।
अख्तियारले मेयर सिंहलाई मतियारको मुख्य कसुरदार सरह सजायको माग गरेको छ ।
अख्तियारले वीरगञ्ज महानगरपालिकाका मेयर सिंह र सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई अनि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध मुद्दा चलाएको हो ।
अख्तियारले त्यसवारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा चलाएको छ ।







