रसुवा । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) रसुवाले कानुनबमोजिम आवश्यक इजाजतपत्र लिएर मात्र मदिरा, सूर्ती, गुट्खालगायत अन्तःशुल्कजन्य वस्तुको बिक्री–वितरण तथा कारोबार गर्न जिल्लाका व्यवसायीलाई आग्रह गरेको छ।
कार्यालयले इजाजतपत्र नलिई मदिरा तथा सूर्तीजन्य वस्तुको कारोबार भइरहेको जानकारी प्राप्त भएको जनाउँदै त्यस्तो गतिविधि कानुनविपरीत भएकाले तत्काल रोक्न अनुरोध गरेको छ। यदि बिना अनुमति कारोबार गरेको पाइएमा अन्तःशुल्क ऐनअनुसार कारबाही गरिने कोलनिकाले स्पष्ट पारेको छ।
जिल्ला सदरमुकाम धुञ्चेसहित स्याफ्रुबेँसी, टिमुरे, थाम्बुचेत, बेत्रावती, जिबजिबे र पारच्याङलगायत व्यापारिक क्षेत्रमा केही व्यवसायीले आवश्यक इजाजतपत्रबिना मदिरा तथा सूर्तीजन्य वस्तुको कारोबार गरिरहेको सूचना प्राप्त भएपछि कार्यालयले जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।
प्रमुख कोष नियन्त्रक विन्ध्या कार्कीका अनुसार उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सम्बन्धित व्यवसायीहरूको सहभागितामा अन्तःशुल्कसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ। उनले व्यवसायीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर मात्रै कारोबार सञ्चालन गर्न आग्रह गरिन्।
कार्यालयका अभिलेखअनुसार हालसम्म गोसाइँकुण्ड गाउँपालिकाका ७४ जना, आमाछोदिङ्मो गाउँपालिकाका एक जना, कालिका गाउँपालिकाका २४ जना, नौकुण्ड गाउँपालिकाका चार जना तथा उत्तरगया गाउँपालिकाका ६ जना व्यवसायीले मात्र अन्तःशुल्कजन्य वस्तुको बिक्री–वितरणका लागि अनुमति लिएका छन्।
कोलनिकाले जिल्लामा अझै पनि उल्लेख्य सङ्ख्यामा व्यवसायीले अनुमति नलिई कारोबार गरिरहेको देखिएकाले यथाशीघ्र इजाजतपत्र लिएर मात्र व्यवसाय सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ। अन्तःशुल्कको अनुमति प्राप्त गर्नका लागि आन्तरिक राजस्व कार्यालय गल्छीबाट स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने प्रमुख कोष नियन्त्रक कार्कीले जानकारी दिइन्।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म अन्तःशुल्क शीर्षकबाट आठ लाख ९९ हजार ७५० रुपैयाँ राजस्व सङ्कलन भएको छ।






