काठमाडौंका ९ व्यवसाय तथा फर्ममाथि वाणिज्यको अनुगमन, चारवटालाई ८० हजार जरिवाना

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ९ व्यवसाय तथा फर्ममाथि अनुगमन गरेको छ।

अनुगमनका क्रममा उपभोक्ता हितविपरीत तथा कानुनी प्रावधान उल्लंघन गर्ने चार कम्पनीलाई जरिवाना गरेको छ भने पाँच व्यवसायलाई सामान्य निर्देशन दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न व्यवसायमा अनुगमन गरेको थियो।

विभागका अनुसार ललितपुर महानगरपालिका–१, धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गल्र्स होस्टेलले उपभोक्ता संरक्षण ऐनअनुसार आवश्यक प्रावधान पूरा नगरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ।

त्यस्तै, ललितपुर–१३, जावलाखेलस्थित ब्ल्यू फक्स रेस्टुरेन्टलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै, काठमाडौं महानगरपालिका–६, बौद्धस्थित शाम्भाला होम प्रालिलाई १० हजार रुपैयाँ तथा कोल्ड एन्ड हट स्पाइसी नुडल्सलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा केही व्यवसायमा सुधार गर्नुपर्ने पक्ष देखिएकाले सामान्य निर्देशनसमेत जारी गरिएको छ।

विभागका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित फिटकोर मस्कलाइन, काठमाडौं–१६, बनस्थलीस्थित बीएन्डबी इन्टरनेशनल ट्रेडिङ प्रालि, काठमाडौं–१७, डल्लुस्थित ताम्राकार ट्रेडर्स प्रालि तथा ललितपुर–१, कुपन्डोलस्थित आरएस स्टार ट्रेडर्स प्रालिलाई सामान्य निर्देशन दिइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *