काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न गर्न जापान सरकारले करिब ५ अर्ब ५० करोड रुपैयाँ बराबरको थप ऋण सहयोग उपलब्ध गराउने भएको छ।
थप ५ अर्ब ७० करोड जापानी येन ऋण सहयोगसम्बन्धी समझदारी पत्रमा नेपालका लागि जापानी राजदूत माएडा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन्।
यसअघि सन् २०१६ डिसेम्बरमा यस आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो।
तर, पछिल्लो समय बढ्दो मूल्य वृद्धि र अन्य प्राविधिक कारणले लागत बढ्न गई बजेट अभाव भएपछि जापानले थप सहयोग गरेको हो। यससँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको दूतावासले जनाएको छ।
सन् २०१९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग यसै वर्षदेखि सञ्चालनमा आउने तयारीमा छ।
Artha Sanjal






