काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न गठन भएको समितिको म्याद पाँच दिन थपिएको छ । गुरुङका विषयमा सार्वजनिक भएका विषय, संकास्पद सेयर लगानी र सम्पत्तिको स्रोतमाथि छानबिन गर्न बनेको समितिको समय सोमबारसम्मका लागि मात्र रहेकोको छानविन प्रक्रिया अझै बाँकी रहेकोले समितिकै अनुरोधमा पाँच दिनको समय थप गरिएको समितिका एक सदस्यले जानकारी दिए।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको छानविन समितिलाई मंगलबारदेखि लागू हुने गरी थप पाँच दिनको समय थप भएको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन्।
सहन्यायाधिवक्ता नेउपानेका अनुसार सुधन गुरूङको बयान र तथ्य अध्ययनलगायतका काम सकिएको भए पनि तथ्यको विश्लेषण गर्दै प्रतिवेदन लेखनका लागि समय नपुग्ने भएपछि समय मागिएको हो।
वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो। यस समितिलाई १५ दिनको समय दिइएमा सो म्याद पुन: थप गरिएको हो। पूर्वगृहमन्त्री गुरूङले आफूमाथि प्रश्न उठेपछि गत वैशाख ९ गते नै पदबाट राजीनामा दिएका थिए।






