वीरगन्जका मेयर सिंह अदालतमा हाजिर :बयान जारी, थुनछेक बहसको तयारी

पर्सा । लिखतसम्बन्धी (नक्कली कागजात) कसुरमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्सामा हाजिर गराई बयान लिन सुरु गरिएको छ । मंगलबार बिहान पर्साको ठोरीबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले मंगलबार बिहान अदालतमा उपस्थित गराएको हो ।

मेयर सिंहलाई बिहान करिब ९ बजे अदालतमा उपस्थित गराइएको थियो । सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा सिंहको बयान लिने कार्य यतिबेला जारी रहेको छ ।

जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकले कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको पुष्टि गर्दै अब कानुनी प्रक्रिया अगाडि बढ्ने बताए । ‘अदालतमा हाजिर गराइएको छ, अब बयान लिने कार्य सकिएपछि थुनछेक बहस सुरु हुनेछ,’ स्रेस्तेदार मल्लिकले भने, ‘त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।’

घटनाको वास्तविकता के हो ?

स्थानीय लियाकत अलीको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई मंगलबार बिहान ठोरीबाट नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले जानकारी दिए ।

मेयर सिंहमाथि अरूकी छोरीलाई आफ्नो छोरी दाबी गरी नक्कली कागजात खडा गरेर नागरिकता दिलाएको गम्भीर आरोप छ । सोही लिखतसम्बन्धी कसुर मुद्दामा प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो । अदालतमा बयान र थुनछेक बहस सकिएपछि उनलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने वा अन्य विकल्प दिने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *