काठमाडौं। सर्वाेत्तम पेन्ट्स इन्डस्ट्रिजले जेठ २८ देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने छ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई जारी गर्न लागेको हो।
कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
यसमध्ये प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८५ हजार कित्ता बाँडफाँट गरिसकेको छ।
४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र १७ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याएर बाँकी रहेको ६ लाख ८८ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि खुलाउनेछ।
आईपीओ न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिनेछ।
सर्वसाधारणले जेठ २८ गतेदेखि असार २ सम्म आवेदन दिन सक्नेछन्। असार २ सम्म मागभन्दा कम आवेदन परे असार ११ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।






