७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने मौद्रिक नीति ल्याउनु पर्नेछ: प्रवक्ता गुरुप्रसाद पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले वर्तमान आर्थिक अवस्थालाई असाधारण परिस्थितिको रुपमा व्याख्या गर्दै सरकारले आगामी बजेटलाई महत्त्वाकांक्षी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक स्थायित्व र वृद्धिका लागि नीतिगत रूपमा बलियो बजेट आवश्यक रहेको बताएका हुन्।

उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले कम्तीमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने खालको तरलता व्यवस्थापन गर्नुपर्नेछ। साथै, मुद्रास्फीति ६ प्रतिशतभित्र सीमित राख्ने लक्ष्यका आधारमा राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

पौडेलले बजेटमा सुशासन, डिजिटाइजेसन र विद्युतीकरणलाई प्राथमिकता दिइएकाले आर्थिक वृद्धिको सिनर्जी उत्पन्न हुन सक्ने बताए।  प्रशासनिक सुधार र प्रविधिमैत्री व्यवस्थाले समग्र आर्थिक प्रणालीलाई चलायमान बनाउन मद्दत गर्ने उनको भनाई छ।

उनले साना कर्जालाई क्रेडिट स्कोर र आर्थिक कारोबारको आधारमा मूल्याङ्कन गर्ने व्यवस्था बजेटमा समेटिनु सकारात्मक भएको उल्लेख गर्दै यसले वित्तीय पहुँच विस्तारमा सहयोग पुर्‍याउने बताए। त्यस्तै, फिनटेक मार्केटप्लेस अवधारणाले डिजिटल वित्तीय प्रणालीलाई मजबुत बनाउने र राष्ट्र बैंक पनि त्यसको कार्यान्वयनमा अघि बढिरहेको उनले जानकारी दिए।

उपभोग बढाउन हायर पर्चेज कर्जाको दायरा विस्तार गर्ने प्रयासले मध्यम र निम्न मध्यम वर्गलाई राहत पुग्ने उनले बताए। साथै, सहुलियतपूर्ण कर्जालाई अझ परिष्कृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। यद्यपि, वित्तीय प्रणालीमा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको सन्दर्भमा सावधानी आवश्यक रहेकोले सबैलाई सजग रहन उनले आग्रह गरे।

प्रवक्ता पौडेलले रेमिट्यान्सलाई देशको प्रमुख विदेशी मुद्रा स्रोत भन्दै यसको उपयोग र व्यवस्थापनमा विशेष सतर्कता अपनाउनुपर्ने सुझाए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *