मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक ६२.८६ करोड अझै घाटा!

काठमाडौं। नेपाल आयल निगमले भारतबाट इन्धन मूल्य घटेर आए पनि पेट्रोलियम मूल्य हेरफेर नगरिएको बताएको छ।

मूल्य यथावत् राख्दा पनि इन्धन बिक्रीबाट पाक्षिक रुपमा ६२.८६ करोड अझै घाटा रहेको निगमले जनाएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरिएको बताएको हो।

निगमको सञ्चालक समितिको जेठ १७ को निर्णयअनुसार जेठ १८ गते बिहान १ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम राखिएको हो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको जनाएको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र सोही कारण आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको निगमको भनाइ छ।

हाल निगमले वर्गअनुसार पेट्रोल प्रतिलिटर २१५.५०, २१६ र २१७ रुपैयाँमा बेच्दै आएको छ। यस्तै, डिजेल÷मट्टीतेल २२२.५०, २२४, २२५ प्रतिलिटरमा बेच्दै आएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *