काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई वर्तमान सरकारको उच्च प्राथमिकताका रूपमा अघि सारिएको स्पष्ट पारेकी छन् । शुक्रबार शीतल निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषकको सम्मान, प्रोत्साहन तथा सहुलियतमार्फत कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने सरकारी नीति निरन्तर कार्यान्वयनमा रहेको बताइन् ।
उनका अनुसार सीमित स्रोतसाधनका बाबजुद सरकारले मल, उन्नत बिउ, सिँचाइ सुविधा, प्राविधिक सेवा विस्तार, पशुपन्छी खोप, कृषि पूर्वाधार विकास, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमा जस्ता क्षेत्रमा विभिन्न सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मन्त्री चौधरीले कृषकले अझै पनि विविध समस्या तथा चुनौती सामना गरिरहेकोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन् । उनले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको साधनका रूपमा सीमित नराखी यसलाई सम्मानित, व्यावसायिक तथा आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको पनि दोहोर्याइन् ।






