एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण, सहकारीमा चरम बेथिति

काठमाडाैं । सहकारी संस्थाले एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण दिएको खुलेको छ । सहकारी बेथिति जाँचबुझ आयोगले सार्वजनिक गरेकाे प्रतिवेदनअनुसार एउटै व्यक्तिलाई १४ करोड रुपैयाँसम्म ऋण दिइएको भेटिएको छ भने एकैदिन ४९ लाख र ५१ लाख गरी एक करोडभन्दा बढी कर्जा प्रवाह गरिएको पाइएको छ ।

प्रतिवेदनमा ४९ प्रतिशतभन्दा बढी सञ्चालक पदाधिकारीले आफ्नै संस्थाबाट ऋण लिएको उल्लेख छ । सहकारीहरूले ऋण हानी कोषमा पर्याप्त रकम नराखी नाफा देखाएर लाभांश बाँड्ने गरेको पनि आयोगले जनाएको छ ।

आयोगको प्रतिवेदनअनुसार ४९ प्रतिशत भन्दा बढी सञ्चालक समितिका पदाधिकारीहरूले संस्थाबाट ऋण लिने गरेका छन् । ‘एकै दिनमा एकै व्यक्तिलाई ४९ लाख र ५१ लाखको ऋण प्रदान गरी कुल एक करोड भन्दा बढी ऋण लगानी गरेको साथै एकै व्यक्तिलाई १४ करोडसम्म ऋण प्रदान गरेको अवस्था छ,’ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सफ्टवेयरमा दुई छुट्टाछुट्टै विवरण राखी अनियमितता गर्ने, कार्यक्षेत्रभन्दा बाहिर बचत संकलन र ऋण प्रवाह गर्ने तथा आफ्ना परिवार र नजिकका व्यक्तिलाई ऋण दिने प्रवृत्तिले सहकारी क्षेत्र संकटमा परेको आयोगको निष्कर्ष छ ।

सहकारी विभागले प्रभावकारी अनुगमन नगरेको, निर्देशनपछि पनि सहकारीहरूले एउटै प्रगति विवरण दोहोर्‍याएर बुझाउने र कतिपय अवस्थामा प्रतिवेदन नै नपठाउने गरेको आयोगले औंल्याएको छ ।

साथै, अर्बौं कारोबार गर्ने सहकारीका व्यवस्थापकको योग्यता एसएलसी मात्र हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *