काठमाडौँ । इक्रा नेपालले सिद्धार्थ बैंकको वित्तीय अवस्था जोखिममा नै रहेको बिषय पुन औल्याएको छ । इक्रा नेपालले हालै सार्वजनिक गरेको मूल्याङ्कनअनुसार सिद्धार्थ बैंकको वित्तीय अवस्था अझै पूर्ण रूपमा जोखिममुक्त हुन नसकेको तथ्य उजागर गरेको हो । कर्जा विस्तारको गति, घट्दो नाफा मार्जिन र बाह्य आर्थिक दबाबका कारण बैंकको दीर्घकालीन स्थायित्वमाथिको जोखिम कायमै रहेको ईक्रा नेपालको मूल्याङ्कनले औंल्याएको छ ।
इक्राले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सिद्धार्थ बैंकको वित्तीय अवस्था अझै पनि पूर्ण रूपमा सुरक्षित हुन सकेको छैन । इक्रा नेपालले बैंकको मूल्याङ्कन ‘आईआर–त्रिपल बी प्लस’ पुनः पुष्टि गरे पनि समग्र प्रतिवेदनमा जोखिमपूर्ण पक्षहरू अझै गम्भीर रहेको संकेत गरेको छ ।
पछिल्लो १२ देखि १८ महिनामा बैंकले ११ प्रतिशत कर्जा विस्तार गरेको छ, जुन समग्र बैंकिङ प्रणालीको औसत करिब ८ प्रतिशतभन्दा बढी हो । ब्याजदर घट्दो र आर्थिक गतिविधि सुस्त भएको अवस्थामा गरिएको यस्तो आक्रामक कर्जा विस्तारले भविष्यमा कर्जा गुणस्तरमा दबाब सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ ।
इक्राले बैंकको नाफामा पनि दबाब देखिएको स्पष्ट पारेको छ । बैंकको खुद ब्याज अंश २.७३ प्रतिशतबाट घटेर २.५२ प्रतिशतमा झरेको छ । बजारमा तरलता बढेसँगै बढेको प्रतिस्पर्धाका कारण बैंकहरूको नाफा अंश निरन्तर घट्दै गएको इक्राको मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।
कर्जा हानीका लागि छुट्याइएको प्रावधान खर्च घटेका कारण नाफा सूचकमा केही सुधार देखिए पनि वास्तविक लाभप्रदता अझै मध्यम स्तरमै सीमित रहेको छ । बैंकको सम्पत्तिमा प्रतिफल करिब ०.८ प्रतिशत र खुद पुँजीमा प्रतिफल करिब ८.५ प्रतिशत रहेको छ, जुन उद्योग औसतभन्दा कमजोर मानिन्छ ।
बैंकको पूँजी संरचनामा केही सुधार देखिए पनि त्यसलाई पर्याप्त र दिगो मान्न सकिंदैन । स्थायी गैर–सञ्चितिकरण प्राथमिक शेयरको प्रभाव र दीर्घकालीन असर अझै स्पष्ट नभएको भन्दै नियामक निकायले पनि सिद्धार्थ बैंकलाई निगरानीमै राखेको छ ।
बैंकको समग्र वित्तीय प्रदर्शन समष्टिगत आर्थिक अवस्थासँग अत्यधिक संवेदनशील रहेको ईक्रा नेपालको पछिल्लो क्रेडिट मूल्याङ्कनले देखाएको छ । बैंकको आर्थिक पुनरुत्थान सुस्त रहनु, रेमिट्यान्स प्रवाहमा सम्भावित कमी र बाह्य भूराजनीतिक तनावले बैंकिङ प्रणालीको तरलता र स्थायित्वमै असर पार्न सक्ने जोखिम ईक्रा नेपालले औंल्याइएको छ ।
‘नकारात्मक प्रभावसहितको निगरानी’ बाट बाहिरिए पनि सिद्धार्थ बैंक लिमिटेडको न्युन कर्जा विस्तार, घट्दो नाफा अंश र बाह्य आर्थिक जोखिमहरूले यसको दीर्घकालीन वित्तीय अवस्थाबारे बैंक जोखिममै रहेको इक्रा नेपालको क्रेडिट मूल्याङ्कनले स्पष्ट पारेको छ ।






