साल्ट ट्रेडिङको आक्रामक व्यापारः ६ महिनामै साढे ६ अर्बको कारोबार, ५ अर्ब ऋण

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब ४१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०२४/२५ मा ९ अर्ब ३८ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।

चालु वर्षको आधा अवधिमै साढे ६ अर्ब हाराहारीको व्यापार गर्दै संस्थाले बजार उपस्थितिलाई निरन्तरता दिएको प्रतिवेदनमा उल्लेख छ।

संस्थाले सञ्चालन र चालुपुँजी व्यवस्थापनका लागि बैंकबाट लिने ५ अर्ब रुपैयाँ बराबरको अल्पकालीन ऋण सीमाको रेटिङ इक्रा नेपालले पुनः पुष्टि गरेको छ।

६ करोड ५० लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणको रेटिङ भने खारेज गरिएको छ।

व्यापार बढे पनि संस्थाको नाफा घटेको छ। प्रतिवेदनअनुसार चालु आवको पहिलो ६ महिनामा सञ्चालन नाफा २.१ प्रतिशतमा झरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५.४ प्रतिशत रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव र सरकारले तोकेको स्थिर मूल्यमा वस्तु बिक्री गर्नुपर्ने अवस्थाले नाफामा दबाब परेको जनाइएको छ।

नाफा घटेसँगै ऋण तिर्ने क्षमतामा पनि दबाब परेको छ। कुल ऋण र सञ्चालन नाफाको अनुपात बढेर १४.४ गुणा पुगेको छ। ब्याज तिर्ने क्षमता मापन गर्ने सूचक १.२ गुणाबाट घटेर ०.८ गुणामा झरेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाले नुन र मलको मौज्दातका लागि ठूलो परिमाणमा कार्यशील पुँजी प्रयोग गर्दै आएको छ।

सहायक र सम्बद्ध कम्पनीलाई १ अर्ब ४० करोड रुपैयाँ बराबरको ब्याजरहित ऋण दिएकाले नगद प्रवाहमा थप दबाब परेको प्रतिवेदनले देखाएको छ।

बजारबाट उठाउनुपर्ने उधारोमध्ये ७७ प्रतिशत असुरक्षित रहेको पनि उल्लेख गरिएको छ।

सन् १९६३ मा स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मा नेपाल सरकारको ११.६ प्रतिशत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ९.७ प्रतिशत सेयर छ।

बाँकी सेयर सर्वसाधारणको स्वामित्वमा रहेको संस्थाले देशभर आयोडिनयुक्त नुन, चिनी, ग्यास र रासायनिक मल आपूर्ति गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *