काठमाडौं । प्रतिनिधिसभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबारको सदनमा अवरोध गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहले सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन् । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका हुन् ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने बताए ।
नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलालले सबैले संविधान, कानुन मानेर अगाडि बढ्नुपर्ने आग्रह गरे । प्रधानमन्त्री केहीबेर मार्त्र भएपनि संसद्मा आएर रोष्ट्रममा उभिएर बोल्नुपर्ने उनको आग्रह छ ।
श्रम संस्कृति पार्टीका आरेन राइले इतिहासमा के नजिर राख्ने भन्ने विषय रहेको बताए । आगामी पुस्तालाई के सन्देश दिने भनेर सबैले ख्याल गर्नुपर्ने उनको आग्रह छ ।
राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको उपस्थितिको लागि सत्तारुढ दलले पनि पहल लिनुपर्ने आग्रह गरिन् । ‘जनप्रतिनिधिसँग किन संवाद गर्न चाहनुहुन्न ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।






