लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत सातौं बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रममाथि छलफल सुरु हुने भएको छ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ।
बैठकको सुरुमा प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।
त्यसपछि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेस गर्नेछन्।
त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को ‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेस गर्ने कार्यसूची रहेको छ।
प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेस गर्नेछन् भने उक्त प्रस्तावलाई प्रदेशसभा सदस्य जमुना ढकालले समर्थन गर्नेछन्।
त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यतालिका छ।
प्रस्तावमाथि छलफलपछि प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।






