भारतमा १० दिनमा चौथोपटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछिल्लो १० दिनमा चौथोपटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ ।

इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि विश्व ऊर्जा आपूर्तिको एक महत्त्वपूर्ण मार्ग ‘स्टेट अफ होर्मुज’ मा अवरोध सिर्जना भयो, जसले गर्दा आपूर्ति शृङ्खलामा प्रत्यक्ष प्रभाव परिरहेको छ ।

पछिल्लो मूल्यवृद्धिसँगै भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय भारु नाघेको छ ।

समाचार एजेन्सी पीटीआईकाअनुसार मंगलबार दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर २.६१ भारु बढाइएको छ । योसँगै दिल्लीमा पेट्रोलको नयाँ मूल्य १०२.१२ भारु पुगेको छ । त्यसैगरी डिजेल मूल्य पनि प्रतिलिटर २.७१ ले बढेर ९५.२० भारु कायम भएको छ ।

दिल्लीबाहेक भारतका अन्य प्रमुख सहरमा पनि इन्धन भाउ आकासिएको छ । कोलकातामा पेट्रोलको मूल्य प्रतिलिटर ११३.५१ भारु पुगेको छ भने मुम्बईमा १११.२१ भारु कायम भएको छ । त्यस्तै चेन्नईमा प्रतिलिटर २.४६ ले बढेर पेट्रोलको मूल्य १०७.७७ भारु पुगेको छ ।

यसअघि शनिबार (मे २३) पनि पेट्रोल र डिजेलको मूल्य बढाइएको थियो । उक्त दिन पेट्रोल ८७ पैसा र डिजेल ९१ पैसा महँगिएको थियो ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *